काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आन्दोलनबारे छानबिन गर्न बनाएको उच्चस्तरीय छानबिन समिति आफूहरुलाई मान्ने नभएको बताएका छन् ।
भक्तपुरको गुण्डुमा आयोजित एक सभालाई सम्बोधन गर्दै उनले केपी शर्मा ओलीलाई पहिले नै थुन्नुपर्छ, जाक्नुपर्छ, समाउनुपर्छ र मुद्दा चलाउनुपर्छ भन्ने व्यक्तिहरूको आयोगलाई एमालेले नमान्ने बताएका हुन् ।
उनले भने, “पहिले नै केपी ओलीलाई मुद्दा लाउनुपर्छ जखाउनुपर्छ भन्नेहरूको आयोग बनाएर गजबको ड्रामा गर्नुभएको छ, हैन । अनि तिनीहरूको आयोग बनाएर र त्यो आयोगको आधारमा छानबिन गरेको नाटक गरेर प्रतिवेदन दिने नेकपा एमालेलाई यस्ता नाटक मन्जुर छैन मान्ने छैन । मैले सुमधुर स्वरमा भनेको छु। यो स्वीकार्य छैन भनेर तर बुझ्नुस् तपाईँहरू !”
आयोगका अध्यक्षसहित आयोगका सदस्यहरू आयोगमा बस्नुभन्दा अगाडिका अभिव्यक्तिहरू माथि प्रश्न उठिसकेपछि सप्रमाण मानिसहरूले ल्याइसकेपछि उहाँहरुले नैतिकताको आधारमा राजीनामा दिनुपर्दैन भन्दै उनले प्रश्न समेत गरे ।
एउटा मान्छे एकाएक विरोधीबाट निष्पक्ष कसरी हुन्छ भन्दै ओलीले प्रश्न गर्दै ओलीले भने, “विरोधीबाट उहाँहरू कसरी निष्पक्ष हुनुभयो ? के गर्नुभयो ? बागमतीको पानी, गंगाजलले नुहाउनु भयो कि गौत खानुभो कि ? के के गर्नु भयो ?”
