काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई राजनीतिबाट मुक्त बनाउनुपर्ने बताएकी छिन् ।
बुधवार कीर्तिपुरमा बसेको त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारणसभामा विश्वविद्यालयकी कुलपति समेत रहेकी प्रधानमन्त्री कार्कीले विश्वविद्यालयलाई स्वायत्ः ढंगले काम गर्ने वातावरण बनाउनुपर्ने र राजनीतिबाट मुक्त बनाउनुपर्ने बताइन् ।
असारमा पारित हुनुपर्ने वार्षिक नीति तथा कार्यक्रमका लागि मंसिर पर्खिनुपर्ने अवस्था विश्वविद्यालयका लागि राम्रो नभएको प्रधानमन्त्री कार्कीको भनाई रहेको छ । मुलुकको आर्थिक अवस्थामा सोचेजस्तो विकास हुन नसकेकोले त्यसको असर विश्वविद्यालयदेखि सबै ठाउँमा परेको उनले बताइन् ।
विश्वविद्यालयहरु पनि शैक्षिक र प्रशासनिक रुपमा मात्रै नभई आर्थिक रुपमा समेत आत्म निर्भर हुनुपर्ने भन्दै प्रधानमन्त्री कार्की त्यसका लागि विश्वविद्यालयको नाममा भएको पूर्वाधारलाई प्रयोग गर्नुपर्ने बताइन् ।
प्रधानमन्त्री कार्कीले विश्वविद्यालयको गुणस्तर अभिवृद्धि गर्न सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
