काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार एक कार्यक्रमको आयोजना गरेर विश्वकप क्रिकेट खेल्ने नेपाली राष्ट्रिय पुरुष टोलीको बिदाई गरेको छ ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्द र नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मासहितले नेपाली क्रिकेट टोलीको बिदाई गरेका हुन् । सो अवसरमा नेता शर्माले वेस्ट इन्डिजसँगको टी–२० शृङ्खला जितेको नेपाली टोलीलाई पूर्वघोषित २० लाख रुपियाँ पनि हस्तान्तरण गरे । आगामी विश्वकपमा सुपर आठमा पुगे २० लाख रुपियाँ दिने घोषणा समेत शर्माले गरे ।
डा. शर्माले नेपाली राष्ट्रिय महिला र पुरुष टोलीका खेलाडी र परिवारलाई निःशुल्क उपचार गराउँदै आएको उल्लेख गर्दै यो सम्झौता सकिए पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । उनले नेपाल सरकार समक्ष खेलाडी जीवनबाट अवकाशपछि उनीहरूलाई पेन्सन दिन माग राखे ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले टेस्ट राष्ट्रसँग खेल्न नपाए पनि लगातार भइरहेको व्यस्तताले नेपाली टोलीको तयारी राम्रो भएको बताए । उनले नेपाली टोली सन्तुलित रहेको उल्लेख गर्दै नेपाली टोली सुपर आठमा पुग्ने आशा व्यक्त गरे ।
नेपाली क्रिक्रेट टोलीबाट देशले धेरै आशा राखेको र विश्वले पनि नियाली रहेको पूर्व कप्तान समेत रहेका क्यानका सचिव पारस खड्काको भनाई रहेको छ ।
