काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद् पुनर्स्थापनाको मुद्धाबारे अविलम्ब फैसला गर्न माग गरेका छन् ।
एमाले ओखलढुङ्गा काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको चुनावी भेलालाई सम्बोधन गर्दै ओलीले संवैधानिक संकटमा देश फसेको बेलामा मौन बस्दा अदालतको औचित्यमाथि नै प्रश्न उठ्ने संसद पुनस्र्थापनाको मुद्धाबारे अविलम्व फैसला गर्न माग गरे ।
आफूहरुले संसद् विघटन गरेर संविधान मिचिएको भनिएको अवस्थामा सर्वाेच्च अदालत चुपचाप लागेर कानमा तेल हालेर बस्न नमिल्ने अध्यक्ष ओलीको भनाई रहेको छ । संसद पुनर्स्थापनाको मुद्धाबारे अदालतले जस्तो आदेश गरेपनि त्यसलाई स्वीकार गरिने उनले स्पष्ट पारे ।
त्यस्तै ओलीले सरकार तटस्थ रहेर भयरहित वातावरणमा, शान्तिपूर्ण वातावरणमा चुनाव सम्पन्न गराउनु पर्ने बताए । कसैलाई जिताउने वा हराउने खेलमा सरकार लागे त्यस्तो निर्वाचन र परिणाम स्वीकार्य नहुने उनले बताए ।
सरकारले जे गर्दा पनि हुन्छ भन्ने सोच्यो भने त्यो देश र सरकारकै लागि पनि अनिष्ट हुने ओलीले चेतावनी दिए । फागुन २१ गते निर्वाचनको मिति तय गरिए पनि हिमाली भेगमा निर्वाचन गराउन कठिन रहेको उनले बताए ।
फरक प्रसंगमा बोल्दै अध्यक्ष ओलीले झापा– ५ मा आफूसँग प्रतिस्पर्धा गर्ने भनेर लागेकाहरुसँग कुनै संगठन, नीति, कार्यक्रम र उद्देश्य नभएको दाबी गरे । आफ्ना प्रतिस्पर्धी बालेन शाहतर्फ लक्षित गर्दै ओलीले बतासे अण्डाबाट चल्ला निस्कन नसक्ने टिप्पणी गरे ।
