काठमाडौं । बेलायतका राजा चार्ल्सका कान्छा भाइ एन्ड्रयू माउन्टबेटन विन्डसर रिहा भएका छन् ।
सार्वजनिक पदमा रहँदा दुर्व्यवहार गरेको आरोपमा बिहिवार थोमस भ्याली प्रहरीले एन्ड्रयुलाई पक्राउ गरेको थियो । १० घण्टाभन्दा बढी हिरासतमा राखिएका उनलाई अनुसन्धानकै क्रममा शुक्रबार रिहा गरिएको हो ।
पक्राउसँगै प्रहरीले स्यान्ड्रिङ्घमस्थित हालको निवास र विन्डसरस्थित शाही निवासमा खानतलासी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । एन्ड्रयूमाथि सन् २०१० मा बालिकाहरुलाई वेश्यावृत्तिमा लगाएको आरोपमा दोषी ठहर भएका जेफ्री एप्स्टिनलाई गोप्य सरकारी कागजात पठाएको आरोप छ । जसलाई उनले अस्वीकार गर्दै आएका छन् ।
बेलायती राजा चार्ल्सले भने कानून अनुसार निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।
सार्वजनिक पदमा रहँदा दुर्व्यवहार गरेको प्रमाणित भएमा अधिकतम आजीवन कारावास सजाय हुन सक्छ । अनुसन्धानका क्रममा बेलायती सरकार, विभिन्न दूतावास तथा बकिङ्घम दरबारसँग सहकार्य गरिने प्रहरीले जनाएको छ ।
आधुनिक बेलायती इतिहासमै शाही परिवारका वरिष्ठ सदस्यमाथि यस्तो कारबाही अभूतपूर्व मानिएको छ ।
