काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ तथ्यांकमा आधारित “देशको वर्तमान तथा आर्थिक वित्तीय स्थिति” सार्वजनिक गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ विप्रेषण आप्रवाह (रेमिट्यान्स) १६.५ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षमा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ भित्रिएको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह २३.२ प्रतिशत बढेको थियो ।
यसैगरी अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले वृद्धि भई १० अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्ष यो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।
समिक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख ६० हजार १०३ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८१ हजार १९९ रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ९७ हजार ७०४ र २ लाख ७७ हजार २७२ रहेको थियो ।
