काठमाडौं । भारतले नेपालका एक दर्जन जलविद्युत आयोजनाबाट थप २५१ मेगावाट बिजुली खरिद गर्ने भएको छ ।
अन्तरदेशीय व्यापार उदेश्यले भारतको तोकिएको प्राधिकरणले नेपालका १२ जलविद्युत आयोजनाबाट उक्त परिणाममा विद्युत निर्यातका लागि स्वीकृति दिएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ । नेपालले पहिलो पटक बिहारमा मध्यकालिन विद्युत बिक्री सम्झौता मार्फत विद्युत निर्यात गर्ने भएको हो ।
यसले कुल स्वीकृति परिणाम ६९० मेगावाट (१६ वटा आयोजना) बाट ९४१ मेगावाट (४१ वटा आयोजना) पुग्ने छ । यो २ सय ५१ मेगावाट स्वीकृत हुनुअघि नै गत आर्थिक वर्ष १६ अर्ब ९३ करोड रुपैयाँ बराबर विद्युत् बिक्री गरी नेपाल खुद विद्युत् निर्यातकर्ता र खुद राजस्व उत्पादनकर्ता बनिसकेको छ ।
सन् २०२१ अक्टोबरमा भारतले पहिलो पटक नेपालबाट ३९ मेगावाट विद्युत् निर्यातका लागि अनुमति दिएको थियो । तीन वर्षभन्दा कम अवधिमा यो आँकडा २४ गुणाभन्दा धेरै बढेको छ ।
नेपाल र भारतबीचको दीर्घकालिन उर्जा सम्झौताले आगामी १० वर्षमा नेपालबाट भारतलाई १० हजार मेगावाट सम्म विद्युत बिक्री गर्ने सम्झौता भएको छ । यो सम्झौताको पहिलो वर्ष हो । यस वर्ष झण्डै एक हजार विद्युत निर्यात भैसकेको छ ।
