काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् ।
लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए ।
उपाध्यक्ष दावा लागू औषध खैरो हिरोइन कारोबारका फरार अभियुक्त हुन् । २०६४ जेठ २० गते उच्च अदालत पाटनले दावालाई दोषी ठहर गर्दै ५ वर्ष कैद सजाय र ५ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।
तर, उनी सजाय भुक्तान नगरी फरार रहेका थिए । फरार रहेका उनलाई पक्राउ गरिएसँगै सजाय भुक्तानका लागि अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ ।
