एजेन्सी । चीनमा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा ५३ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्, चीनको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
मङ्गलबार बिहान ९ बजेर ५ मिनेटमा नेपालसँग सीमा जोडिएको स्वायत्त तिब्बत क्षेत्रको पहाडी क्षेत्रमा ६.८ म्याग्नीच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षणले तिब्बत क्षेत्रमा केन्द्रबिन्दु भएर ७.१ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । चीनको राज्य सञ्चालित सिन्ह्वा समाचार एजेन्सीले क्षेत्रीय प्रकोप राहत मुख्यालयलाई उद्धृत गर्दै ५३ जनाको मृत्यु भएको र ६२ जना घाइते भएको बताएको छ ।
भग्नावशेषमा रहेका मानिसहरुको खोजी गर्न करिब १ हजार ५ सय अग्नि नियन्त्रक र उद्धारकर्मी खटाइएको चीनको आपतकालीन व्यवस्थापन मन्त्रालयले जनाएको छ ।
राज्य प्रसारक चाइना सेन्ट्रल टेलिभिजनले भूकम्पको केन्द्रविन्दु तिब्बतको राजधानी ल्हासाबाट करिब ३८० किलोमिटर (२४० माइल) र यस क्षेत्रको दोस्रो ठूलो सहर शिगात्सेबाट करिब २३ किलोमिटर (१४ माइल) टाढा रहेको टिंगरी क्षेत्रमा रहेको बताएको छ ।
शिगात्से तिब्बतको सबैभन्दा पवित्र शहरहरू मध्ये एक हो। यो तशिलहुन्पो मठको घर हो । पञ्चेन लामाको परम्परागत आसन, जो तिब्बती बौद्ध धर्ममा आध्यात्मिक अधिकारको हिसाबले दलाई लामापछि दोस्रो स्थानमा छन्।
सरकारी सञ्चारमाध्यमका अनुसार प्रारम्भिक भूकम्पपछि ४.४ म्याग्निच्युडका केही परकम्पहरू गएका थिए। भूकम्पको धक्का नेपालको राजधानी काठमाडौंसँगै भुटान र उत्तरी भारतमा पनि महसुस गरिएको थियो ।
