काठमाडौं । नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) का महासचिव उषाकिरण आजाद सहितका नेता कार्यकर्ता पक्राउ परेका छन् ।
नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद अफताब आलमलाई सफाइ दिने उच्च अदालत अस्थायी इजलास वीरगन्जका न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनलाई कालोमोसो दल्ने नेकपा (बहुमत) का कार्यकर्तालाई रिहाइको माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शनमा उत्रिएका अखिल (क्रान्तिकारी) का नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।
अखिल (क्रान्तिकारी) ले निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले महासचिव आजाद आजादसहित नेकपा बहुमतका नेता झलक विश्वकर्मा, युवा संगठनका उपाध्यक्ष प्रमोद सिंह क्षेत्री, अखिल क्रान्तिकारीका सचिव हरी बिष्ट, सचिवालय सदश्य सर्जन पाण्डे , केन्द्रीय सदस्य हस्त वि.क. र समिर लगायतलाई पक्राउ गरेको हो ।
बिहिवार दिउँसो अदालतको इजलासभित्रै (कार्यकक्षमा) रहेका न्यायाधीशद्धय थारु र महर्जनमाथि नेकपा (बहुमत) का कार्यकर्ताहरुले कालोमोसो दलेका हुन् । न्यायाधीशद्धयमाथि कालोमोसो दलको आरोपमा प्रहरीले बहुमतका नेता अविनाश, किशोर कुँवर, गर्बुज र बिहानीलाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ गरिएका नेताको रिहाइको माग गर्दै अखिल (क्रान्तिकारी) ले आज माइतीघरमा प्रदर्शन गरेको हो ।
न्यायाधीशद्वय थारु र महर्जनले आलमलाई सफाइ दिन गरेको फैसलाको चौतर्फी आलोचित भइरहेकै समयमा नेकपा (बहुमत) ले कालोमोसो दलेको हो ।
इँटा भट्टामा हालेर मान्छेलाई जिउँदै जलाएको कसुरमा ६ वर्षदेखि जेलमा रहेका आलमलाई उच्च अदालत अस्थायी इजलास वीरगन्जले यही जेठ १४ गते सफाइ दिएको थियो।
रौतहट जिल्ला अदालतको फैसलालाई उल्ट्याउँदै उच्च अदालत वीरगन्जका न्यायाधीशद्वय थारू र महर्जनको संयुक्त इजलासले जेठ १४ गते आलमलाई सफाइ दिएको हो। त्यही दिन उनी नक्खु कारागारबाट रिहा समेत भएका थिए।
