काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले करिब १७ महिना अगाडी काठमाडौंस्थित अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएको छ ।
पार्टी र संसद् सचिवालयभन्दा असम्बन्धीत मानिसलाई भीसाको लागि अन्तर्वार्ताको मिति मिलाई दिन भन्दै लेखेको पत्र सार्वजनिक भएसँगै उपसभामुख राना विवादमा आएकी हुन् ।
सार्वजनिक पत्रमा उपसभामुख रानाले आफ्नो टोलीका सदस्य भन्दै ५ जनाको अन्तर्वार्ताको समय अगाडी सारिदिन आग्रह गर्दै काठमाडौं स्थित दूतावासलाई पत्र लेखेकी छन् । उनले आफ्नो लेटरहेड प्रयोग गरी लेखिएको उक्त पत्रमा ५ जनाको भीसाको समय अगाडी सार्न आग्रह गरेकी छन् । आफूसँगै सिफारिस गरेका पाँच जना कुन भूमिकामा छन् कार्यरत छन् भन्ने कुरा भने खुलाएकी छैनन् ।
रानाले लेखेको यो पत्र सार्वजनिक भएसँगै हाल सामाजिक सञ्जालमा यसको चर्काे विरोध भैरहेको छ । रानाले यो पत्र आफूले नै लेखेको र त्यसमा भएको हस्ताक्षर पनि आफ्नै भएको प्रतिक्रिया दिएकी छन् ।
रानाले उक्त पत्रमा उपेन्द्र गौतम, सुस्मा लामा, राजेश लामा तामाङ, सुजन घर्तीमगर र धनबहादुर गुरूङ सहभागी हुन लागेको उल्लेख गरेकी थिइन्। उनले आफूले उपेन्द्र गौतमलाई मात्र चिन्ने बताएकी छन् । रानाले आफूले सिफारिस नगरेको तर प्रिडेका लागि कार्यक्रममा जाने हो भनेर पत्र लेखेको र आफैं जाने भएकाले नेपालीहरु पनि गएपछि केही सिक्लान भनेर पत्र लेखेको बताइन् ।
पत्र लेखेको डेढ वर्ष पछि मात्रै पत्र सार्वजनिक गरेर किन प्रश्न उठाइन्छ भन्ने विषय आफूले नबुझेको उपसभामुख रानाको भनाई रहेको छ । यस पत्र बारे सभामुख देवराज घिमिरेले आफूलाई विस्तृत थाहा नभएको तर विषय गम्भीर रहेको बताएका जनाइएको छ ।
उपसभामुखको यस पत्रबारे उच्च राजनीतिक नेतृत्वले समेत चासो देखाएको स्रोतको भनाई रहेको छ । उपसभामुख संवैधानिक परिषद्को सदस्य समेत हुने भएकाले यो विषय यतिकैमा नटुंगिने सत्तारुढ दलका एक नेताले बताए ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले तीन दिन अगाडी यो विषयमा आफूकहाँ उजुरी आएको र यस बारे सभामुख र संसदका महासचिवसँग छलफल गरेको बताए । यो पत्र सार्वजनिक भएसँगै उपसभामुख रानासँगै आन्तरिक विवादमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि प्रश्न चिन्ह खडा भएको छ ।
