काठमाडौं । हाल प्रदर्शनरत चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले सर्वाधिक कमाउने नेपाली फिल्मको इतिहास बनाएको छ ।
फिल्म प्रदर्शन भएको १३ औँ दिन मंगलबारसम्म ‘पूर्णबहादुरको सारङ्गी’ ले २५ करोड ४ लाख रुपैयाँ कमाएको छ । यस चलचित्रले यस अघि धैरै कमाउने फिल्म ‘कबड्डी ४’ को रेकर्ड तोडेको हो । वितरक कम्पनी ब्यांकेटस इन्टरटेन्मेटका अनुसार मंगलबार यस चलचत्रिले १ करोड ५ लाख रुपैयाँ कमाएको छ ।
यस चलचित्रले धेरै कमाउनेका साथै धेरै शो पाउने र छोटो समयमा धेरै ग्रस कलेक्सन गर्ने चलचित्रको समेत रेकर्ड राखेको छ ।
विजय बराल, बुद्धि तामाङ, अन्जना बराइली, प्रकाश सपूत, मुकुन भुसाल लगायतका कलाकारको अभिनय रहेको र सरोज पौडेलको कथा तथा निर्देशन रहेको ‘पूर्णबहादुरको सारङ्गी’ संवाद महेश दवाडीले लेखेका हुन् ।
यस चलचित्रका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन भने कार्यकारी निर्मातामा रमेश चौलागाई, हरि श्रेष्ठ र रमेश ढकाल रहेका छन् ।
