काठमाडौं । स्वास्थ तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई आइतबार पनि ओपीडी सेवा उपलब्ध गराउन निर्देशन दिएको छ ।
स्वास्थ मन्त्रालयका सह–सचिव समिर कुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै सरकारले शनिबार र आइतबार गरी दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेपनि स्वास्थ सेवालाई निरन्तर र प्रभावकारी बनाइराख्न यस्तो निर्देशन दिइएको जानकारी दिएका छन् ।
कर्मचारीलाई हप्तामा शनिबार बाहेक अर्काे एक दिन गरी दुई दिन विदा दिने व्यवस्था गर्ने र विदा दिन नसक्ने अवस्थामा सट्टा विदा उपलब्ध गराउने व्यवस्था गर्न सहसचिव अधिकारीद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसैगरी उक्त व्यवस्था देशभरका प्रादेशिक अस्पतालहरुमा समेत लागू गर्न सात वटै प्रदेशका स्वास्थ विषय हेर्ने मन्त्रालयलाई अनुरोध गरिएको छ । यही चैत्र २२ गते बसेको मन्त्रीपरिषद् बैठकले हप्ताको दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
