काठमाडौं । सरकारले धरहरा चढ्न शुल्क तोकेको छ ।
बिहिवार बसेको मन्त्रीपरिषद्को बैठकले मंसिर ९ गतेदेखि सशुल्क धरहरा सञ्चालन गर्न स्वीकृति दिएको हो । धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रुपमा हाललाई प्रतिव्यक्ति दुई सय रुपैयाँ लिएर सञ्चालन गर्न अनुमति दिने निर्णय गरिएको हो ।
त्यस्तै सार्क राष्ट्रलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ र सार्क बाहेक राष्ट्रलाई प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क तोकिएको छ । त्यस्तै धरहरा पार्किङ गर्दा शुल्क समेत तोकिएको छ । चार पाङ्ग्रे सवारी साधनका लागि प्रतिघण्टा २० रुपैयाँ र दुई पाङ्ग्रे सवारी साधनको लागि प्रतिघण्टा १० रुपैयाँ तोकिएको छ ।
त्यस्तै धरहरा परिसरमा प्रवेशका लागि भने ५० रुपैयाँ तोकिएको छ । धरहरा स्तम्भमा राष्ट्रिय महत्त्वका विज्ञापन गर्न प्रतिघन्टा ५ हजार तोकिएको छ।
व्यवसायीको हकमा भने यो लागू नहुने उल्लेख छ। त्यस्तै धरहरा परिसरमा व्यावसायिक भिडियो छाँयाकन गर्न प्रतिघन्टा ५ हजार र फोटोग्राफीका लागि प्रतिघन्टा १ हजार रुपैयाँ तोकिएको छ।
