काठमाडौं । नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) ले काठमाडौंको बुढानीलकण्ठमा ‘सी व्यापार केन्द्र’ स्थापना गरेको छ ।
बुढानीलकण्ठ नगरपालिकास्थित तल्लो पासीकोट पिपलचोकमा खुलेको उक्त ‘सी व्यापार केन्द्र’ को उद्घाटन सोमबार नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ गरेका हुन् । उद्घाटन कार्यक्रममा महासचिव विप्लवसँगै पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल, नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा ‘प्रभावकर’ र नेकपाका प्रवक्ता खड्क बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहितका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
कृषि जन्य वस्तुको उत्पादन र वितरण गर्ने उद्देश्यले खोलिएको ‘सी व्यापार केन्द्र’ ले मुलुकको आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने नेकपाका महासचिव विप्लवले दाबी गरे ।
आफूहरु कम्युनिष्ट भएको कारण मात्र काम गरौं भन्ने नभई देशको अर्थतन्त्र, उद्योगी व्यवसायीहरुको सुझाव तथा गाउँघरमा देखिरहेको बाँझोपन देखेर आफूहरुले यो व्यापार केन्द्र स्थापना गरेको महासचिव विप्लवले बताए ।
‘सी व्यापार केन्द्र’ मा मा पाइने चामल चेठोबुढा प्रतिकेजी रु.२७०, कपिलवस्तुमा उत्पादीत जीरा मसिनो चामल रु. ९० र सुकुटी प्रतिकेजी रु. १६०० तोकिएको उल्लेख गरिएको छ ।
