काठमाडौं । चिवन राइनोजनका बलर रञ्जित कुमारको उत्कृष्ट बलिङमा चिवनले विराटनगरलाई पराजित गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको १७५ रनको लक्ष्य पछ्याएको विराटनगर १६.५ ओभरमा अलआउट हुँदै १२६ रन मात्रै बनाउन सक्यो । विराटनगरका लागि मार्चेन्ट डि लाङले सर्वाधिक ३९ रन बनाए ।
त्यस्तै प्रतिश जिसीले ३० र साम हिजलेटले २२ रन बनाउँदा अन्य ब्याटरले भने दोहोरो अंक बनाउन सकेनन् ।
बलिङतर्फ भने चितवनका रञ्जितले उत्कृष्ट प्रदर्शन गर्दै नायक बने । ४ ओभर बलिङ गरेका रञ्जितले २१ रन खर्चिएर ५ विकेट चट्काउन सफल भए । त्यस्तै चितवनका लागि कमलसिंह ऐरीले २ विकेट लिँदा कप्तान कुशल मल्ल, सोहिल तन्विर र सैफ जैवले समान एक–एक विकेट लिए ।
यो हारसँगै विराटगरको अपराजित यात्रा टुंगिएको छ ।
यस अघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतीमा १७४ रनको योगफल तयार गरेको थियो । चितवनका लागि रवि बोपाराले उत्कृष्ट अर्धशतकीय इनिङ खेले । उनले ६५ रनको योगदान दिए ।
त्यस्तै कप्तान कुशल मल्ल २० रनमा नटआउट हुँदा शेफ जैबले ३३ रन बनाए । चितवनका देव खनालले १८ रन बनाउँदा डेविड मलानले १७ रन बनाए ।
बलिङतर्फ विराटनगरका कप्तान सन्दीप लामिछाने र मर्चान्ट डि ल्याङ्गेले समान २–२ विकेट लिए भने शुभम रन्जानेले एक विकेट लिए ।
