काठमाडौं । आईसीसी टी– २० विश्वकपको समूहचरणको आफ्नो दोस्रो खेलमा इटालीविरुद्ध नेपाल १० विकेटले पराजित भएको छ ।
भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल १९.३ ओभरमा अलआउट हुँदै १२४ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको इटालीले कुनै विकेटको क्षतीबिना १२.४ ओभरमा लक्ष्य पूरा गर्यो ।
इटालीका लागि ओपनर एन्थोनी मोस्का र जस्टिम मोस्का दाजुभाईले उत्कृष्ट ब्याटिङ गर्दै शतकिय साझेदारी गरेपछि सहजै लक्ष्य पूरा भयो । एन्थोनीले ३२ बलमा ६२ रनको योगदान दिए भने जस्टिनले ४४ बलमा ६० रनको योगदान दिएका थिए ।
नेपालका बलर इटालीविरुद्ध विकेट विहिन बने । टी– २० नेपाल पहिलो पटक १० विकेटले पराजित भएको हो ।
यस अघि पहिला ब्याटिङ गरेको नेपालको लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए । रोहित पौडेलले २३ र आसिफ शेखले २० रन जोडे । बाँकी खेलाडीले २० रनको आँकडा समेत छुन सकेनन् । करण केसीले केमियो इनिङ्स खेल्दै अविजित १८ रन जोड्दा उपकप्तान दीपेन्द्र सिंह ऐरीले १७ रन जोडे ।
यस अघि आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो भने इटाली स्कटल्यान्डसँग ७३ रनले पराजित भएको थियो । यो हारसँगै नेपालले दोस्रो हार बेहोरेको छ भने संस्करणको डेब्यू टोली इटालीले भने पहिलो जित हात पार्न सफल भएको छ ।
यो हारसँगै नेपालको सुपर ८ को सम्भावना कमजोर बनेको छ ।
