काठमाडौं । नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।
ओमानमा जारी एसीसी प्रिमियर कपमा आज ऐरीले एकै ओभरमा ६ छक्का प्रहार गरेका हुन् । दीपेन्द्रले कतारका कमरान खानलाई अन्तिम ओभरमा ६ छक्का हानेका हुन् ।
आफ्नो व्यक्तिगत पहिलो ओभर लिएर बलिङमा आएका खानलाई दीपेन्द्रले लगातार ६ बलमा ६ छक्का प्रहार गरेका हुन् । २१ बलको सामना गरेका दीपेन्द्रले ३ चौका र ७ छक्काको मदतमा ६४ रन बनाएका थिए ।
दीपेन्द्रको उत्कृट फिनिसिङसँगै नेपालले कतारलाई निर्धारित २० ओभरमा ७ विकेटको क्षतीमा २११ रनको विशाल लक्ष्य दिएको थियो । नेपालले दिएको २११ रनको लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७८ रन मात्रै बनाउन सक्यो ।
नेपालले दोस्रो खेलमा कतारलाई आज ३२ रनले पराजित ग¥यो भने यस अघि पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको थियो ।
