काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
त्रिवि क्रिकेट मैदानमा शनिबार दिउँसो १२ः१५ बजे बाट खेल सुरु हुनेछ । जनकपुरको कप्तानी आशिफ शेख र सुदूरपश्चिम रोयल्सको कप्तानी दीपेन्द्र सिंह ऐरीले गर्नेछन् ।
जनकपुरका नियमित कप्तान अनिल कुमार शाह घाइते हुँदा पछिल्लो दुई खेलमा आशिफले कप्तानी गरिरहेका छन् । बुधवार भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिमले जनकपुरलाई नै पराजित गरेर फाइनलको यात्रा सुरक्षित गरेको थियो ।
त्यस्तै, बिहिवार भएको दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । लिग चरणको शिर्ष स्थानमा रहेका दुवै टोली उपाधिका लागि प्रतिस्पर्धा भएका हुन् ।
लिग चरणमा दुई पटक प्रतिस्पर्धा गरेका यी दुई टोलीबीचको खेलमा सुदूरपश्चिमले दुवै पटक जनकपुरलाई पराजित गरेको थियो । सुदूरपश्चिमले जनकपुरमाथि जितको ह्याट्रिक निकाल्दै उपाधि चुम्ने लक्ष्यमा छ भने जनकपुर सुदूरपश्चिमलाई पराजित गर्दै यस अघिका दुई खेलमा बेहोरेको हारको बदला लिन चाहन्छ ।
लिग चरणका सात खेलमा जनकपुरले २ खेलमा हार ब्यहोरेको थयो भने सुदूरपश्चिमले एक खेलमा मात्र हार ब्यहोरेको थियो । दुवै टोलीका कप्तानहरुले आफूहरु फाइनलका लागि तयार रहेको बताएका छन् ।
