काठमाडौं । स्वास्थ तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विपद्बाट घाइते भएकाहरुको निःशुल्क उपचार हुने बताएका छन् ।
बिहिबार राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत घाइतेहरुको अवस्थाबारे जानकारी लिँदै मन्त्री पौडेलले विपद्बाट घाइते भएकाहरुको निःशुल्क उपचार हुने बताए । “कुनै पनि घाइतेहरु उपचारबाट वञ्चित हुनु पर्दैन । उपचाररत घाइतेहरुको जस्तोसुकै जटिल अवस्थाको पनि उपचार हुनेछ,” मन्त्री पौडेलले भने ।
विपद्को समयमा सबैले एक अर्काेलाई सहयोग गर्नु पर्ने भन्दै मन्त्री पौडेलले सबै स्वास्थ संस्थालाई प्रभावकारी ढंगबाट सेवा उपलब्ध गराउन निर्देशन दिए । घाइतेहरुलाई उपचारको लागि स्वास्थ संस्थामा जान आग्रह गर्दै मन्त्री पौडेलले स्वास्थ संस्थामा जान र आउन नसक्नेलाई अस्पतालले ल्याउने व्यवस्था गरेको पनि बताए ।
विपद्ले महामारीजन्य रोग निम्त्याउन सक्ने भएकाले शुद्ध खानेपानीका सन्दर्भमा खानेपानी मन्त्रालयसँग संयुक्त बैठक बसेर छलफल गरिसकेको भन्दै मन्त्री पौडेलले बाढी–पहिरो प्रभावित क्षेत्रमा स्वास्थ शिविरको आयोजना गर्ने तयारी गरिएको पनि जानकारी दिए ।
हालसम्म ट्रमा सेन्टरमा २४ जना घाइतेले उपचार गराइसकेका छन् । जसमा १३ जना डिस्चार्ज भैसकेका छन् भने केहीको शल्यक्रिया गरिएको जनाइएको छ ।
